

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले पार्टीको नेतृत्वमा पुस्तान्तरण, रुपान्तरण र वैचारिक पुनर्जागरण आवश्यक रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आफ्नो अभियानलाई ‘पुस्तान्तरणसँगै रुपान्तरण र रुपान्तरणसँगै वैचारिक पुनर्जागरण’ को संज्ञा दिएका छन् । आन्तरिक छलफलपछि मंसिर अन्तिम साता हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको उनले बताए । २१ फागुन २०८२ मा सम्पन्न निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद बनेका शाही हाल पार्टीको संसदीय दलका नेतासमेत हुन् ।
राप्रपाको महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण हुन नसके पार्टीले आगामी निर्वाचनमा ठूलो क्षति बेहोर्नुपर्ने शाहीको भनाइ छ ।
उनले विगतका निर्वाचनमा वैचारिक मतभेद भएका दलसँग चुनावी तालमेल गरेको र फरक विचार भएका दलको नेतृत्वमा बनेका सरकारमा समेत राप्रपा सहभागी भएको विषय उठाउँदै आगामी दिनमा त्यस्ता गल्ती दोहोरिन नहुने बताए ।
पार्टीलाई नयाँ राजनीतिक दिशामा अघि बढाउन नेतृत्व परिवर्तनसँगै वैचारिक स्पष्टता आवश्यक रहेको उनको भनाइ छ।

