

१२ माघ, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा अगामी फागुन ११ गतेदेखि हुने प्रतियोगिताबारे जानकारी दिइएको छ ।
बिहिबार पत्रकार सम्मेलन गरि आयोजकले प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने जनाएको छ । प्रतियोगिताका संयोजक मेम्बर सिंहले देशभरमै सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता सुदूरपश्चिममा पहिलो पटक संचालन हुने बताए ।
प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरि तीन ईभेन्टमा संचालन गरिने बताए । खुल्ला डबल्समा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतियलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ ।
४५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतियलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ३१ हजार, द्धितियलाई २१ हजार र तृतियलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए ।
प्रतियोगिताको जम्मा पुरस्कार राशी चार लाख नौ हजार हुने छ । प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाईसिट निकालिने उनले बताए । सटर कटमा योनेक्स सनराईज प्रायोजक रहेको छ ।

