

१ चैत, धनगढी । चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको छ ।
मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।
कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएका थिए । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ । जबकि विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो ।
आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरुसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरे पनि विश्वविद्यालय नेतृत्वले भने बेवास्ता गरिरहेको छ ।

