माथिल्लो त्रिशूली–१ मा अहिलेसम्म ३९ जना मृत फेला, ४३९ जना सम्पर्कविहीन

cp new add
Nisharg hospital

काठमाडौं । रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ३९ जनाको मृत्यु पुष्टि भएको छ भने ४३९ जना अझै सम्पर्कविहीन छन्।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका बेला आयोजनास्थलमा नेपाली तथा विदेशी गरी १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये ८७७ जनाको उद्धार गरिएको र ७८ जना सम्पर्कमा आएको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।

सम्पर्कविहीनको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली परिचालन गरिएको छ। खोजीका लागि तालिमप्राप्त कुकुर, पर्वतारोहण उद्धार टोली तथा अन्य दक्ष जनशक्ति प्रयोग भइरहेको कम्पनीले जनाएको छ।

बाढीले सडक र आयोजनाको मुख्य सुरुङ क्षेत्रमा क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उपकरण पुर्‍याएर लेदो तथा भग्नावशेष हटाउने र खोजी गर्ने काम भइरहेको छ। आयोजनास्थलबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत विदुरस्थित सेनाको क्याम्पमा ल्याई परिवारसँग समन्वय गरेर पहिचान तथा अन्तिम संस्कारको व्यवस्था भइरहेको कम्पनीले जनाएको छ।

सम्पर्कविहीनको खोजीका लागि गृह, ऊर्जा तथा अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको र उपलब्ध सबै स्रोत, साधन तथा जनशक्ति परिचालन गरिएको कम्पनीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...