
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणको लागि आफू प्रतिपक्षी दल नेकपा एमालेसँग बसिबसी, उठीउठी जहाँ पनि कुरा गर्न तयार रहेको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा राईले यस्तो बताएका हुन् । प्रदेशसभामा बोल्ने अधिकांश एमाले सांसदहरुले प्रदेशको नामाकरण टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

‘प्रदेशको नामको विषयमा आफूले प्रष्ट रुपमा राख्दा राख्दै पनि यहाँ पटकपटक त्यही कुरा रु नामलाई महत्वपूर्ण कामको रुपमा सरकारले लिएको छ । सरकारलाई दबाब दिनु कुनै जरुरी छैन,’ राईले भने, ‘प्रतिपक्षी दलसँग खाजा खाँदा, गाडीमा हिँड्दै भएपनि उठीउठी, बसीबसी कुरा गर्न सरकार तयार छ । यसलाई हरेक दिन कुरा उठाइरहनु पर्दैन । विनियोजन विधेयक पास गरौं । त्यसपछि नाम पनि हाँसीहाँसी पास गर्ने वातावरण बनाऔं ।’

प्रदेशसभामा एमालेका सांसद हिक्मतकुमार कार्कीले कर्मचारी सरुवाको सिजन सुरु भएको र कमिसनको खेल हुन लागेको भन्दै मुख्यमन्त्रीप्रति कटाक्ष गरेका थिए । उक्त कटाक्षको जवाफ दिँदै मुख्यमन्त्री राईले लामो समय सरकारमा बसेका मन्त्री तथा मुख्यमन्त्रीहरुलाई कर्मचारी सरुवामा पैसाको चलखेल पनि हुन्छ र भन्ने प्रश्न गरेका छन् ।
