१२ भदौ, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टी कैलालीको जिल्ला कमिटि बैठकमा अगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि २६ जना आकांक्षीको नाम प्रस्ताव गरिएको छ । शनिबार बसेको जिल्ला कमिटि बैठकमा प्रतिनिधिसभाका दुई (१ र ४) तथा प्रदेशसभाका पाँच वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न २६ जना आकांक्षीको नाम सम्बन्धीत क्षेत्रिय कमिटिबाट गरिएको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।
समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष भैरवबहादुर रावलले निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि आफूसहित पाँच जनाको नाम प्रस्ताव गरिएको जानकारी दिए । उनकाअनुसार प्रदेश कमिटि सदस्य सुर्यचन्द्र भट्टराई, रामचन्द्र चौधरी, शिवराज विनाडी र जिल्ला कमिटि सदस्य भूमिका शाहीको नाम प्रस्ताव गरिएको छ ।
प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा जिल्ला सचिवालय सदस्य हरिराम चौधरी, लालसिंह कठरीया र आशा चौधरी तथा प्रदेशसभा ‘ख’ मा जिल्ला सचिवालय सदस्य ललित साउद, जिल्ला सदस्य सीतादेवी चौधरी र सचिवालय सदस्य देवीलाल पाण्डेको नाम सिफारिसमा परेको छ ।
निर्वाचन क्षेत्र नं. ४
निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका केन्द्रीय सदस्य तथा प्रदेश कमिटि उपसचिव दीर्घबहादुर सोडारी, केन्द्रीय सदस्य लक्ष्मण कुँवर, प्रदेश कमिटि सदस्य विजय बिक र जिल्ला कमिटि सदस्य सरस्वती खडायतको नाम आएको छ ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट केन्द्रीय लेखा आयोग सदस्य विजय कुँवर, केन्द्रीय सदस्य चुनकुमारी चौधरी (हाल प्रदेशसभा सदस्य) , प्रदेश कमिटि सदस्य लोकबहादुर सारु, जंग सुनार, जिल्ला उपाध्यक्ष रत्ना कडायत र जिल्ला सदस्य लक्ष्मीराज पन्तको नाम सिफारि भएर आएको जिल्ला कमिटिले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. ३ र ५
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘ख’ मा जिल्ला कमिटि उपाध्यक्ष बिमलकुमार जोशी, प्रदेशसभा सदस्य हिक्मत कुँवर, जिल्ला सचिवालय सदस्य मदनराज रेग्मी तथा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा जिल्ला कमिटि सदस्य कृष्णबहादुर शाह र टीकाराम भण्डारीको नाम प्रस्ताव गरिएको छ ।
शनिबारको बैठकमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका पाँच निर्वाचन क्षेत्रबाट आकांक्षीहरुको नाम प्रस्ताव गरिएको भएपनि अन्य क्षेत्रबाट नाम आउने क्रम जारी रहेको समाजवादी पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष भैरवसिंह रावलले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा आकांक्षीहरुको नाम जिल्लामा सिफारिस गर्न भनिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रिय कमिटिले सिफारिस गरेका नामबाट उम्मेदवार छनोट गरेर प्रदेश कमिटिलाई सिफारिस गर्ने जिम्मेवारी जिल्ला पदाधिकारी बैठकलाई दिइएको छ । अगामी २०÷२१ गतेतिर प्रदेश कमिटिको बैठक बस्ने बताउदै रावलले त्यतिन्जेलसम्म उम्मेदवारको अन्तिम टुङ्गो लगाइने बताए ।
कैलालीमा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर ४ र प्रदेशसभामा तीन सिटमा दाबी गरेको छ ।