
काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनमा अन्य पदमा भने निर्वाचन हुने सम्भावना छ । सात जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव त्यागी, डा. कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी वैठाले उम्मेदवारी दिएका छन् ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार एक जना महासचिवका लागि ममता झा, चन्दनकुमार सिंह र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । एक जना उपमहासचिवका लागि निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिक प्रतिस्पर्धामा छन् ।
त्यस्तै, सात जना निर्वाचित हुने सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह छन् ।

