दार्चुलामा बाढीपहिरोको बितण्डा : ६० परिवार घरबार बिहीन, १० जना बेपत्ता

Nisharg hospital

२५ भदौ, धनगढी । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो क्षति गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढीपहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार पूर्ण रुपले विस्थापित भएको जानकारी दिए । उनकाअनुसार कुल ९१ घरमा क्षति भएपनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् । पूर्ण, आशिंक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् ।

बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी राखिएको छ । घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए । उनकाअनुसार नौगाड गाउँपालिका–२ की १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

उनीहरु मध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् । दुवै पालिकाका चार पुरुष र छ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।

शनिबार राति भइसकेकाले आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ । लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे र एउटा मोटररेवल पुल बगाएको छ भने एउटा विद्यालय, विद्युत पावर हाउसमा पूर्ण रुपले क्षति गरेको छ । बाढीपहिरोमा परेर २६३ पशुचौपाया मरेकोमा ७ वटा जीप तथा कार, एउटा ट्रयाक्टर र एउटा जेसीबी हराएका छन् ।

kailali udhog

जिल्ला प्रशासन कार्यालयकाअनुसार बाढीपहिराले महाकाली नगरपालिकाका १, २, ३ र ३ नम्बर वडा र नौगाड गाउँपालिकाका १ देखि ६ सम्मका सबै वडा प्रभावित भएका छन् । प्रभावित भएकाहरुलाई तत्काल स्थानीय विद्यालय तथा सार्वजनिक भवनहरुमा व्यवस्थापन गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

उनकाअनुसार नेपाल रेडक्रस सोसाईटीको समन्वयमा प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा राखेर खानाको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । कतिपय मानिस भने आफन्तकोमा बास बसेको प्रहरीको भनाई छ ।

तीन जना मन्त्री प्रभावित क्षेत्र पुगे

बाढीपहिरो प्रभावितका लागि राहतका सामाग्री लिएर संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसहितका तीन जना मन्त्री दार्चुला पुगेका छन् । बडुसँगै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी हेलीकोप्टर मार्फत प्रभावित क्षेत्रमा पुगेका हुन् ।

उनीहरु प्रभावितहरुका लागि खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहत सामाग्री लिएर दार्चुला पुगेको प्रदेश सरकारले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...