
धनगढी । कैलालीमा सञ्चालन भइरहेको जापानीज इन्सेफलाइटिस (जेई) खोप अभियानअन्तर्गत चार दिनमै करीब साढे ३८ हजार जनाले खोप लगाएका छन् ।
घोडाघोडी र लम्कीचुहा नगरपालिकामा मात्रै अहिलेसम्म ३८ हजार ४ सय ९२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले यी दुई पालिकामा ७३ हजार २ सय २१ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।
आइतबार मात्रै ८ हजार एक सय १७ जनाले खोप लगाएका छन् । जसमा ३ हजार ५७ पुरुष र ५ हजार ६० महिला छन् ।
नगरपालिकागत विवरणअनुसार घोडाघोडीमा लक्षित ३३ हजार ४ सय ८६ मध्ये १९ हजार ८ सय १७ जनाले खोप लगाएका छन् । यो कुल लक्ष्यको ५९ दशमलव १७ प्रतिशत हो ।
त्यस्तै, लम्कीचुहामा लक्षित ३९ हजार ७ सय ३५ मध्ये १८ हजार ६ सय ७५ जनाले खोप लगाएका छन् । यो कुल लक्ष्यको ४६ दशमलज ९९ प्रतिशत हो ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १०३ वटा खोप सेसन सञ्चालन गरिएको छ । खोप लगाएपछि देखिन सक्ने प्रतिकूल घटना(एईएफआई) हालसम्म शून्य रहेको कार्यालयले जनाएको छ ।

