२८ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले चुनाव प्रचारमा जान नपाउने आचार संहिता व्यवस्थाको विरोध गरेका छन् ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा सांसद श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने, त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने, तर मन्त्रीहरुले आफैं उम्मेदवार भएको छ भने बाहेक अन्त चुनाव प्रचार नगर्ने भन्न मिल्दैन ।’
यसलाई सच्याउनुपर्ने उनले बताए । बरु राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा परेको अप्ठ्यारो पनि सुनाए ।
दलहरुले पाउने मत र त्यसका आधारमा पाउने सिट संख्या अनुमान योग्य हुने भन्दै उनले भने, ‘जो पर्ने निश्चित छ भनेर चुनावमा नजाने, जो पर्दैन, किन जाने भनेर नजाने । समानुपातिक उम्मेदवारको चुनावी अभियानमा भूमिका नहुने भयो ।’