‘केपी ओली इज केपी ओली, फुटबलको पेले’ भन्ने अभिव्यक्ति खारेज गरिसकेँ : कृष्णगोपाल श्रेष्ठ

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गर्दै आफूले दिएको पुरानो अभिव्यक्ति खारेज गरिसकेको बताएका छन् ।

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू कसैको पेलानमा पर्ने नेता नभएको बताए । उनले ओलीबारे आफ्नो पुरानो अभिव्यक्तिको सान्दर्भिकता अहिले सकिएको टिप्पणी गरे । श्रेष्ठको ‘केपी ओली इज केपी ओली, फुटबलको पेले हो’ भन्ने अभिव्यक्ति यसअघि चर्चामा आएको थियो । ओलीले मंगलबारको बैठकमा सोही प्रसंगमा प्रश्न गरेपछि श्रेष्ठले आफ्नो धारणा परिवर्तन भएको संकेत गरेका हुन् ।

उनले भने, ‘कसैले पेले भनेर सोचे पनि म पेलिने खालको मान्छे होइन । मैले बोलेका कुराको ७८ देखि २०८२ भदौ २२ गतेसम्म त्यसको सान्दर्भिकता रह्यो । भदौ २३ देखि २४ हुँदै आजसम्म आउँदा अब त्यसको सान्दर्भिकता सकियो ।’

श्रेष्ठले पार्टीलाई एकताबद्ध र लोकप्रिय बनाउने विषयमा बैठक सौहार्दपूर्ण रूपमा अघि बढिरहेको बताए । आफूले हिजोको बैठकमा आफ्नो कुरा राखेर हिँडेको भन्दै उनले बैठक बहिष्कार नगरेको दाबी गरे । उनले पार्टीले समयअनुसार आफूलाई नसच्याए परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिए ।

‘ग्राउन्डलाई बुझ्न सकेनौँ भने, आफूलाई सच्याउन सकेनौँ भने हामी सक्किनुपर्छ,’ उनले भने । श्रेष्ठले गत वर्ष भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई प्रतिगमन नभई क्रान्ति भएको बताए । नेतृत्वमा एमाले सरकारमा रहेका बेला यति ठूलो आन्दोलन हुनु पार्टीको कमजोरी भएको उनको भनाइ थियो ।

‘हाम्रो नेतृत्व सरकार हुँदा यति ठूलो आन्दोलन भयो, त्यो हामीले किन सूचना लिन सकेनौँ ? त्यो हाम्रो कमजोरी होइन र ? नेकपा जोगाउन नसक्नु हाम्रो कमजोरी होइन र ?’ उनले प्रश्न गरे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...