
धनगढी । रुपेश विष्ट नेपाल पुलिस क्लबको महिला टोलीका प्रमुख प्रशिक्षक हुन । अहिले उनकै प्रशिक्षणमा नेपाल पुलिस क्लबले नेपालको घरेलु मैदानमा हुने धेरैजसो खेलमा आफ्नो पक्कड जमाउँदै उपाधि रक्षा गर्ने गरेको छ।

अन्य टोलीले समेत पुलिस लाई आफ्नो प्रमुख दाबेदारको रूपमा लिन थालेका छन् ।
केही वर्ष अघि सम्म नयाँ खेलाडी नहुँदा उपाधि जित्न सकस भइरहेको बेला रुपेशले अहिले दिन प्रतिदिन सफलता हात पार्दै गइरहेका छन् ।
टोलीमा भएका सिनियर खेलाडीहरू खेलबाट बिदा लिने अवस्था र नयाँ खेलाडी उत्पादन गरी टोली लाई अगाडि बढाउनु पर्ने जिम्मेवारी प्रशिक्षक बिस्टको काँधमा थियो,र त्यो जिम्मेवारी पूरा गर्न उनलाई समय लाग्यो ।
तर असम्भव भएन त्यसैको परिणाम हो अहिले उनको टोलीले बारम्बार घरेलु मैदानमा सफलता प्राप्त गरिरहेको छ।
को हुन् रुपेश ?
काठमाडौँ भक्तपुर निवासी रुपेश विष्ट २०६० सालमा भलिबल खेलाडीको रूपमा नेपाल पुलिस क्लबको टोलीमा प्रवेश गरेका थिए ।
उनले २०६० देखि २०६४ सम्म पुलिस क्लबमा ओपन स्पाइकर र सेटरको भूमिकामा थुप्रै खेलहरू खेले र उनी टोलीमा प्रवेश गरेकै वर्ष २०६० सालमा उनको टोलीले धनगढीमा सम्पन्न राष्ट्रिय पुलिस भलिबल प्रतियोगितामा प्रथम भयो। यो उनको लागी खेलाडीको रूपमा ठुलो उपलब्धि थियो ।
२०६० सालमा पुलिस क्लबमा खेलाडीको रूपमा प्रवेश गरेका विष्ट ४ वर्ष सम्म भलिबल खेलेपछि खेलाडीको जीवन बाट बिट मार्दै सहायक प्रशिक्षकको रूपमा पुलिस क्लबमा आफ्नो प्रशिक्षणको यात्रा लाई अगाडि बढाए ।
उनी सहायक प्रशिक्षक हुँदा पुलिसको टोलीमा प्रमुख प्रशिक्षक कपिल किशोर श्रेष्ठ थिए । उनीसँग सँग चार वर्ष काम गरेपछि फेरि प्रमुख प्रशिक्षक वरिष्ठ भलिबल प्रशिक्षक सुरेश कुमार रिमाल भए ।
उनीसँग पनि चार वर्ष सहायक प्रशिक्षककै रूपमा विष्टले काम गरे । उनीहरू दुवै जना बाट राम्रो साथ सहयोग पाएको र धेरै कुरा सिक्न पाएको बिस्टको भनाइ छ ।
करिब आठ वर्ष सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेपछि २०७० सालमा रुपेश कुमार विष्टले नेपाल पुलिस क्लबको प्रमुख प्रशिक्षकको जिम्मेवारी प्राप्त गरे । यो उनको लागी ठुलो अवसर मात्र नभएर चुनौती पनि थियो । उनले पुलिस क्लब लाई एउटा लयमा ल्याउनु पर्ने थियो। उनलाई त्यो चुनौती सामना गर्न पाँच बर्षजति लाग्यो तर असम्भव भएन।
रुपेश विष्टले प्रशिक्षकको रूपमा नेपाल पुलिस क्लबमा उल्लेखनीय सुधार ल्याउँदै यो वर्षमा मात्र थुप्रै उपाधि प्राप्त गरेको छ । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आयोजनामा भएको मेयर कप भलिबल प्रतियोगिता,एनभिए कप त्रिपुरेश्वर,मुख्यमन्त्री कप इटहरी,र नेपाल भलिबल सङ्घले आयोजना गर्ने सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता एनभिए लिगमा लिगका म्याचमा सोझो सेटमा हराउँदै र लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०को समेत बिजेता भै अपराजित यात्रा लाई कायम राखी ३,१ को सेटमा एपिएफ लाई हराउँदै विजेता भई आफ्नो लयलाई कायम राख्न सफल।
कुनै बेला राष्ट्रिय टोलीमा अन्य टोलीको दबदबा हुन्थ्यो र नेपाल पुलिस क्लबको उपस्थिति कम हुन्थ्यो भने अहिले राष्ट्रिय टिममा समेत ३ जना खेलाडीको उपस्थिति छ।
रुपेश विष्टले पछिल्लो समय नेपाल पुलिस क्लबमा ल्याएको उल्लेखनीय परिवर्तन देखेर उनलाई नेपाल भलिबल सङ्घले केही महिना अघि चीना सम्पन्न भएको १९ औ एसियान खेलकुदको तयारीको लागी उनलाई राष्ट्रिय पुरुष भलिबल टिमको असिस्टेन्ट कोचको जिम्मेवारी समेत प्रदान गरेको थियो।
उनले यो सफलताको श्रेय आफ्नो मात्र नभई खेलाडीको रहेको बताउँछन् । आफूलाई उक्त जिम्मेवारी दिने नेपाल प्रहरी सङ्गठन र नेपाल भलिबल संघ प्रति आभार व्यक्त गर्दै उनी भन्छन्, ‘आफ्नो यात्रामा साथ दिने पुलिस क्लबका सहायक प्रशिक्षक र व्यवस्थापक प्रति पनि आभारी छु । ’
अहिले नेपाल प्रहरीको प्रशिक्षक रहेका रुपेश अवसर प्राप्त गरे राष्ट्रिय टोलीको पनि प्रशिक्षण गर्न सक्ने बताउँछन्।

