
धनगढी । धनगढी उपमहानगरपालिकाले सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पेपरलेस धनगढी’ अभियानअन्तर्गत एकीकृत डिजिटल प्रणाली ( यूडीजीपी ) सञ्चालनमा ल्याएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरले सेवाग्राहीलाई छिटो, पारदर्शी, झन्झटमुक्त र कागजरहित सेवा उपलब्ध गराउने लक्ष्यसहित नयाँ प्रणाली लागू गरिएको जनाएको हो।
उपमहानगरका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार बढ्दो जनसंख्याको चाप व्यवस्थापन गर्दै वास्तविक नगरवासी र करदाताको पहिचान गर्न डिजिटल प्रणाली प्रभावकारी हुने विश्वास गरिएको छ।
उनका अनुसार एउटै यूडीजीपी प्लेटफर्ममार्फत विभिन्न सफ्टवेयरलाई एकीकृत गरिएकाले नागरिकले एकपटक अपलोड गरेका कागजात पुनः–पुनः बुझाउनुपर्ने अवस्था हट्नेछ। प्रणालीले कागजातको अवस्थासमेत स्वतः ट्र्याक गर्ने सुविधा प्रदान गर्नेछ।
पहिलो चरणमा उपमहानगरका १९ वटै वडाका सचिवलाई नागरिक ई–केवाईसी, विभिन्न सिफारिस र फाइल ट्र्याकिङ प्रणाली सञ्चालनसम्बन्धी तालिम दिइएको छ।
प्रविधिको प्रयोग गर्न नसक्ने सेवाग्राहीलाई सहज बनाउन उपमहानगरले कार्यालयमै हेल्पडेस्क स्थापना गरेको छ। हेल्पडेस्कमार्फत कर्मचारीले सेवाग्राहीको विवरण डिजिटल रूपमा दर्ता गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नयाँ प्रणालीमार्फत अब नगरवासीले जन्मदर्ता, नागरिकताका लागि सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा घरबाटै अनलाइन लिन सक्नेछन्। आवश्यक कागजात अपुग भएमा सम्बन्धित व्यक्तिको मोबाइलमा सन्देशमार्फत जानकारी पठाइने व्यवस्था पनि गरिएको छ।
डिजिटल रूपमा जारी हुने कागजातमा क्यूआर कोड रहनेछ, जसलाई सम्बन्धित निकायले स्क्यान गरेर प्रमाणीकरण गर्न सक्नेछन्।
उपमहानगरका अनुसार यूडीजीपी प्रणालीमा ई–सिग्नेचर, डिजिटल अभिलेख व्यवस्थापन, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन, कार्यालय टिप्पणी प्रणाली, डिजिटल भुक्तानी तथा राजस्व संकलन, विकास निर्माण अनुगमन, सार्वजनिक सूचना, विपद् व्यवस्थापन, डेटा सुरक्षा तथा डेटा दृश्यावलोकनलगायतका सेवा समेटिएका छन्।

