३० भदौ, धनगढी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कैलालीसहित सुदूरपश्चिमका केही जिल्लामा भारी वर्षा हुने बताएपछि सर्तकता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबारदेखि वर्षा भइरहेपनि मौसम पूर्वानुमान महाशाखाले शुक्रबार (भोली) भारी वर्षाको सम्भावना रहेको बताएपछि सर्तकता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
जिल्लाका सबै स्थानीय तह र सुरक्षा निकायलाई प्रशासनले ‘हाइ अलर्ट’मा बस्न निर्देशन समेत दिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सबै स्थानीय तहलाई लिखित रुपमै पत्राचार गरेर भारी वर्षापछि हुनसक्ने बाढीपहिरो तथा डुबानलाई ध्यानमा राख्दै सर्तकता अपनाउन भनिएको जानकारी दिए ।
उनकाअनुसार मातहतका सुरक्षा निकायले वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण तथा उद्दारका लागि हाई अलर्टमा बस्न भनिएको छ । विशेषगरी कर्णाली, मोहना, खुटिया लगायतका नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सर्तकता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार भोलि कैलालीसहित सुदूरपश्चिम प्रदेशका केही ठाउँमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।