२ असोज, काठमाडौं । लोकप्रिय गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा उनलाई पार्टी प्रवेश गराए ।
मुरलीधर सिरहाको क्षेत्र नम्बर २ वा ४ नम्बर क्षेत्रबाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बन्ने भएका छन् ।
मुरलीधरका उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ, पहाडको पल्लो डाँडामा छ सानो गाउँ गीत निकै लोकप्रिय छन् । उदितनारायण झासँग उनले गाएका ‘आमाले भन्थे धाराको पानी’ पनि निकै लोकप्रिय गीत हो ।
लोकलयमा आधारित गीत पनि उनले गाएका छन् । उनी केही नेपाली फिल्मको पार्श्वगायनमा पनि चर्चित रहेका छन् । पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पनि उनी चासो राख्थे ।
अध्यक्ष लिङ्देनले लोकप्रिय गायकलाई राप्रपामा प्रवेश गराउन पाउँदा आफू एकदमै उत्साहित रहेको बताए ।