विदेशीको आशीर्वाद होइन, जनताको मतबाट प्रधानमन्त्री बन्छु : हर्क साम्पाङ

cp new add
Nisharg hospital

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कुनै पनि विदेशी शक्तिको आशीर्वाद वा दलालीबाट नभई नेपाली जनताको सार्वभौम मतबाट आफू देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा आफू केही समयमै प्रधानमन्त्री बन्ने बताए। उनले आफूलाई ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन’ भन्ने टिप्पणी सुनेपछि प्रधानमन्त्री बन्ने सोच आएको बताए। देश विकासको लक्ष्य पूरा गर्न बस हाँक्न बसको चाबी हातमा हुनुपरेजस्तै देश बनाउन प्रधानमन्त्री बन्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री बन्न विदेशीको पाउमा साष्टाङ्ग दण्डवत् गर्ने वा दलाली गर्ने काम आफूले नगर्ने साम्पाङले बताए। उनले भारत, चीन वा कुनै ‘ग्रे जोन’ को आशीर्वाद नभई नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने दाबी गरे।

आफू प्रधानमन्त्री बनेपछि ३ करोड नेपालीका ६ करोड हातलाई एकैसाथ काममा परिचालन गर्ने उनले बताए। ‘केवल भाषण र कलम चलाएर मात्र देश बन्दैन,’ उनले भने, ‘देश बनाउन औजार चलाएर श्रमदानमार्फत सारा संसारलाई चकित पार्ने गरी काम गर्नुपर्छ।’

साम्पाङले आफू ‘आगो बोकेको मान्छे’ भएको दाबी गर्दै विरोधी तथा देशी–विदेशी शक्तिलाई नजिस्काउन चेतावनीसमेत दिए। धरान उपमहानगरपालिकामा ठूला राजनीतिक दललाई पराजित गर्दै आफू एक्लै माइक बोकेर निस्किएको र अहिले लाखौँ श्रमदाताको साथ रहेको उनले बताए।

विदेशीको चाकरी गरेर बसेकाहरूलाई खबरदारी गर्दै साम्पाङले आफूलाई जति पछारे पनि उत्तिकै माथि उफ्रिने र कहिल्यै नफुट्ने ‘भकुन्डो’ जस्तै भएको दाबी गरे।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...