२ असोज, धनगढी । सामाजिक सञ्जाल फेसबुकमा अहिले दुई तस्बिर भाइरल भइरहेका छन् । तस्बिरमा सशस्त्र प्रहरीको पोशाखमा रहेका एक जना अधिकारीले बाढीमा फसेका बच्चा र बृद्धाको उद्दार गरिरहेका देखिन्छन् ।
आधा शरीर पानीमा डुबेको अवस्थामा अन्दाजी ५-६ महिनाको जस्तो देखिने नवजात शिशुलाई उद्दार गरिरहेका ती अधिकारी सशस्त्र प्रहरी नायब निरीक्षक(सई) कृष्णसिंह टेर हुन् । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीमा कार्यरत टेरले भजनी नगरपालिका–७ को चर्रामा बाढीमा फसेको अवस्थामा घरबाट शिशुको उद्दार गर्दै गरेको बेलाको भएको खुलेको छ ।
अर्को तस्बिर कैलारी गाउँपालिकाको हो । जसमा टेरले एक बृद्धा महिलालाई बोकेर सुरक्षित स्थानतिर लैजादै गरेको देख्न सकिन्छ । यी दुई तस्बिरलाई लिएर विपद् उद्दार सम्बन्धी तालिम प्राप्त सशस्त्र प्रहरी अधिकारी समेत रहेका टेरको सामाजिक सञ्जालमा अहिले प्रशंसा भइरहेको छ । उनी आफ्नो ज्यानको प्रवाहै नगरेर बाढी प्रभावितको ज्यान जोगाएको भन्दै धन्यवादका पात्र बनेका छन् ।
कैलालीमा शुक्रबारदेखिको अविरल वर्षाका कारण करीब १५ सय डुबानमा परेका थिए । उनीहरुलाई शनिबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रभावितहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको थियो । वर्षा रोकिएपछि बस्तीमा पसेको बाढी समेत घटेपछि मानिसहरु आइतबारदेखि भने घर फर्किन थालेको स्थानीय प्रशासनले जनाएको छ ।