
धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई विश्वासको मत दिने भएकाे छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री साेडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ । यद्यपि याे बारेमा औपचारिक निर्णय गर्न बाँकी छ ।
प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासकाे मत दिने बताए ।
“हामी मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन्छौं । पार्टी नेतृत्वकाे निर्देशन पनि प्राप्त भएकाे छ,” रावलले भने । ६ बैशाखमा एमालेसहितकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका साेडारीले २१ बैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।
तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाकाे किरियाकर्ममा रहेकाे र मुख्यमन्त्रीले सल्लाह नगरेकाे भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाकाे बैठक बस्न सकेकाे थिएन ।
एमालेले केन्द्रकाे निर्देशन नआएकाे भन्दै २२ बैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएकाे थियाे ।
मुख्यमन्त्री साेडारीले पर्सि जेठ ३ गते बिहान सवा १० बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

