नेकपा (एस) कैलालीका उपसचिव जोशीकी श्रीमतीविरुद्ध ३१ लाखको चेक अनादर मुद्दा
पक्राउ गर्न प्रहरीको आलटाल
५ असोज, धनगढी । नेकपा (एकीकृत समाजवादी) कैलालीका उपसचिव दीर्घराज जोशीकी श्रीमतीले ३१ लाखको चेक अनादर मुद्दामा बिगो नतिरेपछि अदालतले पक्राउ आदेश जारी गरेको पाइएको छ ।
जोशी श्रीमती अनिता जोशीविरुद्ध जिल्ला अदालत कैलालीले तीन महिना अघि पक्राउ पुर्जी जारी गरेको पाइएको छ तर प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको गुनासो गरिएको छ ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी सामाजिक विकास मन्त्री भएका बेला उनका स्वकीय सचिव समेत रहेका जोशीकी श्रीमती अनिताले अदालतको आदेशअनुसार चेक अनादर मुद्दामा पीडितलाई बिगो नतिरेको भन्दै तीन महिना अघि पक्राउ पुर्जी जारी गरेको थियो ।
तर जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई अहिलेसम्म पक्राउ गरेर अदालत पेश गर्न सहयोग नगरिदिएको गुनासो पीडित पक्षको छ । बर्दगोरिया गाउँपालिका–६ घर भएर धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएकी मायादेवी विष्टले १३ जेठ २०७६ मा जोशीविरुद्ध दायर ३१ लाखको चेक अनादर मुद्दामा दायर गरेकी थिइन् ।
अदालतको आदेशअनुसार उनले ब्याजसहित सावा रकम नपाएपछि पुनः अदालतको ढोक ढकढक्याएकी थिइन् । उनले अदालतमा दिएको निवेदनका आधारमा जोशीविरुद्ध पक्राउ आदेश भएपनि विष्टले जोशीलाई प्रहरीले पक्राउ गर्न चासो नदिएको भन्दै ताकेता गरिदिन पुनः निवेदन दिएकी थिइन् ।
जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई पुनः असोज २ गते ताकेता पत्र पठाएको छ । तर जोशी अहिलेसम्म पक्राउ परेकी छैनन । अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन जोशीलाई पक्राउ गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेपनि प्रहरीले सहयोग नगरेको गुनासो विष्टको छ ।
‘अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन म जिल्ला प्रहरी कार्यालय कैलालीमा गएको थिए तर उहाँहरुले पक्राउ गछौँ भनेको नी तीन महिना पुगिसक्यो अहिले सम्म मान्छे समातिएको छैन,’ विष्टले प्रेसपत्रसँग भनिन्, ‘मन्त्री दीर्घ सोडारीको राजनीतिक पावरको आडमा कैलालीका प्रहरीले पनि मलाई सहयोग गरिरहनुभएको अवस्था छैन ।’
उनले प्रहरीले पक्राउ गर्न नचाहेकै कारण जोशी अहिले पनि कैलालीमा निर्वाध रुपमा आवतजावत गरिरहेको दाबी गरिन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने जोशीको खोजी भइरहेपनि फेला नपरेको जनाएको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पीडितले गुनासो गरेजस्तो कुनै प्रभावमा नपरेको बताउँदै उनको खोजी भइरहेको बताए ।
‘अदालतले पक्राउ गरेर पेश गर्नू भनेर आदेश दिइसकेपछि हामीले जसरी पनि पक्राउ गरेर बुझाउनुपर्छ । यसमा प्रहरी प्रभावमा परेको भन्ने कुरा शंका बाहेक केही होइन,’ जोशीले प्रेसपत्रसँग भने, ‘उहाँको खोजी जारी छ । नभेटिएकाले पक्राउ नपरेका हुन् ।’
के थियो मुद्दा ?
पीडित मायादेवी विष्टकाअनुसार जोशीकी श्रीमती अनिताले एक महिनामा फिर्ता गर्ने शर्तमा २०७५ सालमा ३१ लाख रुपैयाँ सापटी लिएकी थिइन् । विष्टले अनिताका श्रीमान दीर्घ जोशीसँगको चिनजान र उनकै आग्रहमा विश्वास गरेर त्यति ठूलो रकम आफूले उनलाई सापटमा दिएको बताइन् । तर पटक–पटक माग्दा समेत रकम फिर्ता भएन ।
उनकी पत्नी अनिता जोशीले आफ्ना नाममा रहेको धनगढीको ज्याति विकास बैँकको दुई वटा चेक दिएकी थिइन् । जोशीले विष्टको नाममा २०७५ साउन १० मा भुक्तानी हुनेगरी २९ लाख सात हजारको एउटा र २०७५ भदौ २८ मा भुक्तानी हुनेगरी दुई लाखको चेक दिएकी थिइन् । तर चेक नसाटिएपछि विष्टले अदालतमा चेक अनादरको मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालत कैलालीका तत्कालीन न्यायाधिश खेमराज भट्टको इजलासले १४ फागुन २०७७ मा उक्त मुद्दाको फैसला गर्दै जोशीलाई दोषी ठहर गरेको थियो । अदालतले उनलाई एक हजार पाँच सय रुपैयाँ जरिवाना र चेकमा अंकित रकम वार्षिक १० प्रतिशतका दरले ब्याज समेत गरेर सावा रकम भराउने आदेश गरेको थियो ।
तर अदालतको फैसलाअनुसार जोशीले रकम नतिरेपछि विष्टले एक वर्ष कैद सजायको माग गर्दै गत बैशाख १४ गते पुनः जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । जिल्ला अदालतकाअनुसार उनको निवेदनमाथि सुनवाइ गर्दै गत असार ३१ गते प्रतिवादी जोशीलाई पक्राउ गर्न आदेश भएको थियो ।