५ असोज, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा समानुपातिक पद्धतिमा उम्मेदवार बन्ने पक्का भएपछि नेपाली कांग्रेसमा कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार खोजी सुरु भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य आरजु आफैं उम्मेदवार हुन चाहेपछि क्षेत्र, जिल्ला हुँदै प्रदेशबाट समेत सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी थिइन् । आकांक्षी नेताहरुले दाबी समेत पेश गरेका थिएनन् ।
तर निर्वाचन आयोगमा बन्दसूची बुझाउने दिन ३ असोजमा एकाएक आरजु समानुपातिकमा उम्मेदवार बनिन् । कैलालीका कांग्रेस नेताहरुले सुरुमा त आरजु समानुपातिकमा बसेको पत्याएनन् । किनकी हरहालतमा चुनाव लड्ने तयारी गरेकी आरजुले कैलाली–५ कोमनोविज्ञान परीक्षण गर्न खोजिएको हो कि भन्ने अनुमान गरे । कांग्रेस कैलालीका एक नेताले बताए । ‘उहाँले (आज) बुधबार यहाँ आउने पूर्वनिर्धारित कार्यक्रम नै रद्द गरेपछि भने प्रत्यक्ष चुनाव नलड्ने पक्का भयो ।’
अब ४ मंसिरमा हुने चुनावमा कांग्रेसको उम्मेदवार को भन्ने खोजी सुरु भएको छ । आरजुका लागि छाउँ छाडेका आकांक्षीहरुले टिकटका लागि लबिङ थालेका छन् ।
कसले पाउँला त टिकट ?
पूर्वमन्त्री पुष्करनाथ ओझा पनि टिकटका आकांक्षी हुन् । २०७४ को चुनावमा आरजुलाई असहयोग गरेको भन्दै कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो । तर कैलालीको राजनीतिमा ओझाको प्रभाव कायमै छ । त्यही कारण कांग्रेस नेताहरुले उनलाई फकाउने प्रयास गरेका थिए । तर उनी कुनै हालतमा आरजुलाई सहयोग गर्न तयार भएनन् ।
आरजु समानुपातिकमा बसेपछि कारबाही फुकुवा गरेर ओझालाई उम्मेदवार बनाउनुपर्ने कतिपयको मत छ । ओझा स्वयं पनि कांग्रेसबाट उम्मेदवार हुन चाहन्छन् ।
तर उनकै कारण आरजु प्रत्यक्ष चुनाव नलड्ने अवस्था आएकाले उनले टिकट पाउने सम्भावना निकै कम देखिएको छ । ‘ओझाकै कारण आरजुले छाड्नु परेको क्षेत्रमा उनैलाई टिकट दिने सम्भावना छैन । यसले राम्रो थिति पनि बसाल्दैन,’ एक नेता भन्छन् ।
बरु नरनारायण शाह ‘मनु’ र सुनिल भण्डारीलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
मनु कांग्रेस सुदूरपश्चिमका प्रदेश महामन्त्री हुन् । आरजुले प्रत्यक्ष लड्न चाहेपछि समानुपातिकमा बसेका थिए । तर अब १० वर्ष जिल्ला सभापति भएर काम गरिसकेका उनलाई अघि सार्दा चुनाव जित्न सहज हुने कांग्रेस नेताहरु बताउँछन् । यद्यपि भेगीय राजनीतिले कति साथ दिन्छ भन्ने प्रश्न स्वयंम कांग्रेस नेताहरु गर्छन् ।
किनकी कैलाली ५ मा डोटीबाट झरेकाहरुको बाहुल्य छ भने थारु समुदाय निर्णायक हुन् । मनुको पुर्ख्यौली थलो सल्यान हो ।
तर उनका हजुरबा लोकेन्द्रबहादुर शाहले २०१५ सालमै यही (कैलाली कञ्चनपुर) क्षेत्रबाट चुनाव जितेका थिए । मनु स्वयं यही क्षेत्रमा हुर्के बढेका राजनीतिज्ञ हुन् । कैलाली कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘पुष्कर दाइले पनि आरजुबाहेक अरुलाई समर्थन गर्छु भन्नुभएकै छ । मनु दाइलाई उम्मेदवार बनाउने हो भने ८–१० हजार मतान्तरले चुनाव जित्न सकिन्छ ।’
कांग्रेसकै कतिपय नेताहरुले भने सुनिल भण्डारीलाई अघि सार्नुपर्ने तर्क गरेका छन् । उनको घर पनि यही क्षेत्रमा पर्छ । तर २०७४ मा कैलाली ४ मा उम्मेदवार थिए र वाम गठबन्धनका लेखराज भट्टसँग पराजित भए । त्यसयता यही क्षेत्रमा निरन्तर काम गरेकाले भण्डारी स्वयंम कैलाली ४ बाटै चुनाव लड्न चाहेका छन् । ‘मेरो स्वभाविक दाबी क्षेत्र नम्बर ४ मा हो । पार्टीले फरक निर्णय गरे के गर्ने भन्नेत्यसपछि निर्णय गरौंला’, भण्डारीले भने ।
धनगढीका पूर्व मेयर नृपबहादुर वड र नेता कृष्णबहादुर महरा पनि सम्भावित उम्मेदवार हुन् । ‘मेयर साबले पनि इच्छा देखाउनुभएको छ । सोहीअनुसार अहिले उहाँ परामर्शमा हुनुहुन्छ,’ वड निकट स्रोतले भन्यो ।
कैलाली–५ मा रानाथारु र चौधरी समुदायको मत पनि निर्णायक हुने भएकाले सोही समुदायबाट उम्मेदवार बनाउनुपर्ने स्वर पनि कांग्रेसमा सुनिन थालेका छन् ।
आमन्त्रित सदस्य आशाराम चौधरी, नेता लक्ष्मीनारायण चौधरी र जिल्ला सहसचिव रामसमझ राना सम्भावित उम्मेदवार हुन् ।
तर प्रदेशको कतर्फ लक्ष्मीनारायण, आशाराम चौधरी लगायतमध्ये एक जना र खतर्फ क्षितिज भण्डारी, नृप सुनार लगायतमध्येबाट एकलाई लिएर प्रतिनिधिसभामा मनु वा सुनिलमध्ये एक उम्मेदवार बन्ने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् ।
जिल्ला सचिव केशव मिश्रले आरजु समानुपातिकमा अटाएपछि उम्मेदवार बन्न केही नेताहरुले आकांक्षा देखाएको सुनिएको बताउँदै स्वभाविक भएको टिप्पणी गरे । तर अहिलेसम्म औपचारिक छलफल नभएको उनले बताए ।