धनगढी। प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको तेस्रो अडिसन आज आयोजना गरिएको छ ।

तेस्रो अडिसन कंञ्चनपुरको पुनरवास नगरपालिका–२ मा सरस्वती माविमा आयोजना गरिएको हो। सरस्वती माविमा सम्पन्न अडिसनमा १२ जना प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा ९ जनाले गायन र ३ जनाले नृत्यमा प्रतिस्पर्धात्मक सहभागिता जनाएका थिए।
गत वर्ष तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्।
यस वर्ष पनि गत वर्र्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्। यस वर्षको फाल्गुनसम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्। जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशः७५–७५ हजार र ३०–३० हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्। थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले जानकारी गराएको छ।
