
धनगढी। भारी वर्षा, बाढी तथा पहिरोको जोखिम बढेपछि सुदूरपश्चिममा लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन्।
यातायात व्यवसायीहरूले शुक्रबारदेखि आइतबारसम्म लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेपछि धनगढी आउने तथा धनगढी हुँदै काठमाडौँ, पोखरा लगायत पूर्वतर्फ जाने यात्रुहरू प्रभावित भएका छन्।
सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्रिबस सञ्चालनमा रोक लगाइएको थियो। शुक्रबार बिहानदेखि पहाडी तथा विकट क्षेत्रमा जाने बससमेत सञ्चालन नगर्ने निर्णय गरिएको हो।
उनका अनुसार धनगढीबाट पोखरातर्फ दैनिक दुई र काठमाडौँतर्फ १३ वटा रात्रिबस सञ्चालन हुँदै आएका थिए। तर, मौसम प्रतिकूल भएपछि ती बस तत्काल सञ्चालन नगरिएको हो।
‘सरकारको निर्देशन र मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको हो,’ शाहले भने, ‘जोखिम कम भएका जिल्लामा भने वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गर्नेछौँ।’
लामो दूरीका बस बन्द भएपछि यात्रुहरू छोटो दूरीका सवारीसाधनमार्फत गन्तव्य पुग्न बाध्य भएका छन्। कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुले थप सास्ती खेप्नुपरेको छ।
यातायात व्यवसायीहरूले मौसममा सुधार नआएसम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित यातायात कम्पनीसँग बस सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेका छन्।

