१२ असोज, धनगढी । निर्वाचन आयोगले आज राति १२ बजदेखि आचारसंहिता लागु गर्ने बताएका बेला सुदूरपश्चिम प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी उद्घाटन कार्यक्रममा व्यस्त देखिएकी छन् ।
निर्वाचन आचारसंहिता विपरीत लागु भएपछि उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन नमिल्ने भएकाले मन्त्री चौधरीले बुधबार बिहानैदेखि सक्रिय भएकी हुन् । मन्त्री चौधरीले बुधबार बिहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेका कलश कृषि महिला सहकारीको नवनिर्मित भवनको उद्घाटन गरेकी हुन् ।
प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३० लाख बजेटमा निर्माण भएको भवनको मन्त्री चौधरीले उद्घाटन गरेको सहकारीकी अध्यक्ष मिना चौधरीले जानकारी दिइन् ।
उनकाअनुसार आर्थिक वर्ष २०७७-८८ को जेठमा कृषि मन्त्रालयबाट भवन निर्माण सम्बन्धी योजना स्वीकृत भएको थियो भने गत वर्षको मंसिरदेखि निर्माण थालिएकोमा अहिले आएर सम्पन्न भएको हो ।