धनगढीका मेयर हमालले सरकारी स्कुलका ‘मास्टर’लाई बनाए सल्लाहकार, पढाई डामाडोल !

Dhangadhi

१२ असोज, धनगढी । धनगढी उपमहानगरपालिकाले शिक्षकको काज सरुवा गरेर मेयर गोपाल हमालको विज्ञ सल्लाहकारमा नियुक्त गरेको पाइएको छ । उपमहानगरपालिकाले असारदेखि लागु हुने गरेर वडा नम्बर ११ को ठेकराज माध्यमिक विद्यालयमा विज्ञान र सामाजिक विषय पढाउदै आएका शिक्षक कृपाराम उपाध्यायलाई विज्ञ सल्लाहकारको रुपमा राखेको पाइएको हो ।

Nisharg hospital

उपाध्यायलाई मेयर हमालको विज्ञ सल्लाहकारको रुपमा राखेपछि विद्यालयको पढाई विगत तीन महिनादेखि प्रभावित भएको छ । प्रधानाध्यापक लेखराज ओझाले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपाध्यायलाई काजमा उपमहानगरपालिका खटाइदिने व्यवहोराको पत्र आएपछि पठाइएको जानकारी दिए ।

add krishi mela

उनले उपाध्याय विज्ञ सल्लाहकार भएर उपमहानगरपालिका गएपछि उनको ठाउँमा अर्को शिक्षक व्यवस्थापन गर्ने भनिएपनि हालसम्म कुनै व्यवस्था हुन सकेको छैन । शिक्षक व्यवस्थापन नहुँदा उपाध्यायले कक्षा १२ सम्म पढाउने गरेको विज्ञान र सामाजिक विषयको अध्यापन प्रभावित भएको बताए ।

ok

‘गत असारमा उहाँ(उपाध्याय) सरलाई काज सरुवा गरी पठाउने भनेर प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट पत्र आएपछि हामीले पठाएका हौँ,’ ओझाले भने, ‘उहाँ गएपछि अर्को शिक्षक पठाउने भन्नुभएको थियो तर अहिलेसम्म नपठाउँदा कक्षा व्यवस्थापन गर्न सकिएको छैन ।’ उनले विज्ञान विषयको कक्षा विद्यालयमा कार्यरत अन्य शिक्षकले समय व्यवस्थापन गरेर अध्यापन गराउने भएपनि कक्षा ११ र १२ मा सामाजिक विषयको कक्षा व्यवस्थापनमा कठिनाई उत्पन्न भएको सुनाए ।

यद्यपी उपमहानगरपालिकाले उपाध्यायको ठाउँमा अर्को शिक्षक पठाउने भनेकाले चाडै व्यवस्थापन हुने विश्वास उनको छ । मेयर हमालको निजी सचिवालयमा विज्ञ सल्लाहकारको रुपमा काम गर्दै आएका शिक्षक कृपाराम उपाध्यायले भने उपमहानगरपालिकाले काजमा खटाएको बताए । उनले मेयरको सल्लाहकार भएपनि शिक्षककै हैसियतमा सेवासुविधा लिइरहेको जनाए ।

विद्यार्थीको पढाई प्रभावित गरेर शिक्षक उपाध्यायलाई मेयरको विज्ञ सल्लाहकार राखिएको विषयमा प्रतिक्रिया लिन मेयर गोपाल हमाल र प्रमुख प्रशासकीय रामलाल श्रेष्ठसँग बुझ्न खोज्दा दुवै जना सम्पर्कमा आएनन् । तर कानूनले भने निर्वाचित जनप्रतिनिधिलाई सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन ।

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका शाखा अधिकृत प्रताप धामी भने विद्यार्थीको पढाई प्रभावित हुने गरेर शिक्षकलाई अन्य जिम्मेवारीमा राख्नु नहुने बताउँछन् । ‘शिक्षक व्यवस्थापनको काम पनि स्थानीय तहको भएकाले उसले आवश्यकता अनुसार खटनपटन गर्न सक्छ तर विद्यार्थीको पढाई प्रभावित हुनेगरी शिक्षकलाई अन्य काममा खटाउन मिल्दैन,’ धामीले भने, ‘यदी त्यो अवस्था आएमा वैकल्पीक व्यवस्था गरेको हुनुपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख भुमीनन्द खनाल, शिक्षकको काम पढाउने भएकाले जनप्रतिनिधिको सल्लाहकारका रुपमा राख्न  नपाइने बताउँछन् ।तर कुनै अमुख शिक्षक विद्यार्थीलाई पढाउन छाडेर पालिका प्रमुख वा उपप्रमुखको सल्लाहकारका रुपमा काम गरिरहेको व्यवहोराको उजुरी भने नपरेको उनको भनाई छ । लिखित रुपमा उजुरी परेको खण्डमा कानून सम्मत रुपले छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याइने खनानलले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...