
धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मनाेनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकि भुल निर्विरोध निर्वाचित भएकाे प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चाैधरी भुल निर्विरोध निर्वाचित भएकाे जानकारी दिए ।
बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय ताेकिएकाे थियाे ।
नाउपाका नेता लक्ष्मण किशोर चौधरीसहित कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा नाउपाकी रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
भुल २०७९ मा भएकाे निर्वाचनमा कैलारी गाउँपालिका–२ काे दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
भुलले सत्तारूढ दल नेकपा एमालेको समर्थनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।
यसअघि जिल्ला समन्वय समितिकाे प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका पदमबहादुर कलेलको २३ पुस २०७९ निधन भएकाे थियाे ।
