

धनगढी । कैलालीमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडक खण्डमा मप ०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले विपरीत दिशाबाट आइहेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको छ ।
बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।

