१५ असोज, कामठाडौं । दशैं मनाउन गाउँ फर्किने यात्रुका कारण शनिबार काठमाडौंबाट धेरै सवारी साधन बाहिरिएका छन् ।
काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उच्च हुँदा काठमाडौंको प्रमुख नाका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा जाम परेका छ ।
नागढुंगा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार शनिबार काठमाडौंबाट बाहिरिने गाडी अत्याधिक रहेका छन् । ‘नर्मल दिनमा भन्दा आज चार पाँच गुणा बढी गाडीहरु बाहिरिएका छन्, सडक ठप्प त भएको छैन, तर प्रेसर अत्यधिक छ’ उनले भने ।
उनका अनुसार शनिबार कार, जिप र मोटरसाइकल पनि अरु दिन भन्दा धेरै नै बाहिरिएका छन् ।
सडकमा अवरोध कतै छैन, तर सवारी साधनको संख्या धेरै भएकाले नै जाम भएको प्रहरी निरीक्षक सापकोटा बताउँछन् । ‘सुरुङमार्गमा नजिक सडक त्यति राम्रो छैन, खाल्डाखुल्डी छन, उकालोमा कन्टेनरहरु बिग्रिँदा पनि जाम हुन्छ, त्यसैले दिउँसोको समयमा कन्टेनर रोकेका छौं’ सापकोटाले भने ।
त्यस्तै काठमाडौंबाट पूर्व क्षेत्रमा जाने सडक बीपी राजमार्ग पनि शनिबार विहानभरि जाम भएको थियो । मंगलटार र कटुन्जेको बीचमा दुर्घटना भएका कारण विहानभरि जाम भएको प्रहरी चौकी काभ्रेभञ्ज्याङले जनाएको छ । ‘विहान दुर्घटना भएका कारण जाम भएको हो, अहिले खुलेको छ’ वरिष्ठ हवल्दार उद्धव भण्डारीले बताए ।
उनका अनुसार धुलिखेल नगरपालिका–११ पात्लेखेतदेखि रोशी गाउँपालिकाको मंगलटारसम्म करिब ७ किलोमिटर क्षेत्रमा गाडी रोकिएका थिए ।
प्रहरीले दुर्घटनामा परेका सवारी साधन हटाएपछि सडक खुलेको थियो ।
बीपी राजमार्ग हुँदै उपत्यकाबाट बाहिरिने सवारी साधन शुक्रबार भन्दा बढेको छ । शुक्रबार करिब ५०० गाडी बीपी राजमार्ग हुँदै काठमाडौंबाट बाहिरिएका थिए ।