२३ असोज, धनगढी । प्रतिनिधि सभा सदस्यका लागि डोटीमा प्रेमबहादुर आलले टिकट पाएपछि काँग्रेस असन्तुष्ट भएको छ । प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी एकीकृत समाजवादीको भागमा परेको हो ।
एकीकृत समाजवादीले पूर्व मन्त्री प्रेम आलेलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । आलेले टिकट पाएपछि नेपाली कांग्रेस, डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने चर्चा रहेको छ । कांग्रेस, डोटीले तालमेल नगर्न दबाव दिदै आएको थियो ।
तर सत्ता गठबन्धनको भागवण्डामा डोटीको प्रदेश सभातर्फको १ मात्र नेपाली काँग्रेसले पाएको छ । प्रदेश सभातर्फको २ मा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका मुख्य स्वकीय सचिव शिवसिँह ओली निर्वाचन लड्दैछन् ।
नेपाली काँंग्रेसको भागमा परेको प्रदेशसभा १ मा जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले प्रतिनिधिसभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । प्रदेशसभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
डोटीबाट निर्वाचन लड्दै आएका काँग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन् । यस अघिदेखि काङ्ग्रेस कार्यकर्ताले डोटीमा गठबन्धन नगर्ने बताउदै आएका थिए । जिल्लाको कार्यसमितिले पनि गठबन्धन नगर्ने निर्णय गरेको थियो ।