नेपाल कसैको अधीनमा वा विरोधमा जान चाहँदैन : माधव नेपाल

cp new add
Nisharg hospital

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान, लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिले मुलुकको प्रमुख चुनौती भएको बताएका छन्।

Nast Ad

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशको अस्तित्व, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै नेपाललाई विदेशीको क्रीडाभूमी बन्नबाट जोगाउनु वर्तमान समयको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

नेपालले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहने स्पष्ट पार्दै सबै मित्र राष्ट्रसँग समानता, पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्धका आधारमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, “नेपाल कुनै देशको पछि लाग्न चाहँदैन, कसैको अधीनमा रहन चाहँदैन र कसैका विरोधमा पनि जान चाहँदैन। सबैसँग मैत्रीभाव राखेर अगाडि बढ्न चाहन्छ। त्यसैले हामी सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ। हाम्रा कुनै बैरी छैनन् र हामी बनाउन पनि चाहँदैनौँ।”

उनले पछिल्लो समय बाह्य प्रभावका कारण मुलुकमा आपसी असमझदारी बढाउने प्रयास भइरहेको दाबी गर्दै त्यस्ता गतिविधिप्रति सचेत रहन आवश्यक रहेको बताए। राष्ट्रियताको विषय अहिले झनै संवेदनशील बनेको उनको भनाइ थियो।

सहसंयोजक नेपालले शहीदहरूको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयतालाई जोगाउनु सबै राजनीतिक दल र नागरिकको साझा दायित्व भएको उल्लेख गरे। तुल्सीलाल अमात्यले लोकतन्त्र स्थापना तथा निर्दलीय व्यवस्था अन्त्यका लागि पुर्‍याएको योगदान स्मरण गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता र उपलब्धिको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

उनले गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी ठगी र सुकुम्बासीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नुपर्ने बताए। यस्ता समस्याबाट नागरिक आत्महत्या गर्न बाध्य हुने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दै उनले जनताका समस्याप्रति वामपन्थी शक्तिसहित सबै देशभक्त शक्ति संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...