२३ असोज, धनगढी । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको संगठन विस्तारदेखि विगतका निर्वाचनमा अन्य काममा कटिबद्ध भएर लाग्दा समेत उचित मूल्याङ्न नगरिएको गुनासो गरेका छन् ।
सोही कारण अबदेखि एमाले पार्टीमा नरहने निष्कर्षमा आफू पुगेको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
प्रदेशसभा सदस्यका लागि एमालेको क्षेत्रिय कमिटिले रावलसहितका १० जनाको नाम सिफारिस गरेको थियो तर केन्द्रीय कमिटिले गोदावरी नगरपालिकाका पूर्व मेयर हरीसिंह साउँदलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए ।
२०३६ सालदेखि एमालेको राजनीतिमा सक्रिय रावल जिल्ला कमिटि सदस्य हुँदै प्रदेश कमिटिसम्म पुगेका थिए ।