२८ असोज, कास्की । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ ।
उदघाटन समारोहको सबै किसिमको तयारी भइसकेको र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा अपराह्न साढे तीन बजे विशेष समरोहका बीच गरिने नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।
नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।
नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुने खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिए ।
अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ ।
गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल नहुने भएको छ ।
आगामी कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।
कुन खेल कहाँ हुने ?
एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ ।
पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रंगशालामा हुनेछन् । आर्चरी र फेन्सिङ पनि पोखरा रंगशालामा हुनेछ ।