
काठमाडौं । घरेलु टोली मलेसियाले एसीसी प्रिमियर कपमा नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार यूकेएम यूएसडी ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२।३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।
मलेसियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४, मोहम्मद स्याहदत रमीलले १३ रन जोडे । नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले एकरएक विकेट लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेटको जित निकालेको थियो ।
मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । मलेसियाले पहिलो खेलमा साउदी अरेबियाविरुद्ध ९३ रनको सहज जित दर्ता गरेको थियो ।

