१ कार्तिक , पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भएको थियो ।
करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् ।
२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो, उनले भनिन्, वास्ता गरिनँ र १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।
उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पुष्पले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । उनी महिला म्याराथनतर्फ सागमा पदक जित्ने पहिलो खेलाडी हुन् ।
एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी गरेको भए पनि चोटका कारण सपना पूरा नभएको प्रतिक्रिया दिएकी छन् ।
महिला म्यारथनमा एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारले स्वर्ण पदक जितेकी छिन् ।