

अडियोमा सुन्नुहोस् ।
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा १० करोडको लगानीमा न्याचुरा रिसोर्ट खुलेको छ ।
धनगढीमा चिकेन स्टेशन सञ्चालन गर्दैै आएका व्यवसायी मदन भट्टले धनगढी उपमहानगरपालिका ३ को गुरूद्वारा मार्गमा न्याचुरा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
भट्टले १० करोडको लगानीमा खोलेका रिसोर्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझा र होटल व्यवसायी संघका अध्यक्ष केशवराज पाण्डेयले रिसोर्टको संयुक्त रुपमा उद्घाटन गरे ।
सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा स्तरीय रेस्टुरेन्ट र आवासीय सुविधा दिने उद्देश्यका साथ रिसोर्ट सञ्चालन गरिएको व्यवसायी भट्टले बताएका छन् । खासगरि कर्पोरेट क्षेत्रका अतिथिलाई मध्यनजर गरेर रिसोर्ट सञ्चालनमा उनले ल्याएको जानकारी दिए ।
रिसोर्टमा रेस्टुरेन्ट, कन्फ्रेन्स हल र १७ वटा सुविधा सम्पन्न आवासीय कोठा रहेका छन् । जसमध्ये आठ वटा सुपर डिलक्स रुम र सात वटा डिलक्स रूम रहेको व्यवसायी भट्टले बताए ।
रिसोर्टले लज र रेस्टुरेन्ट भने छुट्टाछुट्टै भवनमा राखेको छ । ३ करोडको जग्गा र संरचना निर्माणमा ७ करोड गरेर रिसोर्टमा १० करोड लगानी भएको उनी बताउँछन् । रिसोर्ट परिसरमा पर्याप्त पार्किङको व्यवस्था छ भने पानीको फोहरा, कृत्रिम झरनासहित विभिन्न प्रजातिका विरुवा रोपेर हरियाली व्यवस्थापन गरिएको छ। जाडो मौसममा घाम ताप्दै र गर्मीमा रुखको छहारीमा बसेर प्राकृतिक वातावरणको आनन्द लिँदै रमाउन मिल्ने किसिमले रिसोर्टको संरचना निर्माण गरिएको भट्टले बताए ।
लामो समय जीवन बिमा क्षेत्रमा क्रियाशिल भट्टले हरेका वर्ष राष्ट्रिय रुपमै सर्वाधिक बिमा गराउन सफल व्यवसायीका रुपमा आफ्नो पहिचान निर्माण गर्न सफल हुँदै आएका छन् । केही वर्ष अगाडि धनगढीको चटकपुरमा चिकेन स्टेसन सञ्चालनमा ल्याएका उनले आजबाट औपचारिक उद्घाटन गर्दै न्याचुरा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
अतिथि सत्कार क्षेत्रमा सम्भावना देखेर लगानी गरेको बताउने भट्टले चिमेन स्टेसन र रिसोर्ट गरी ४० जनालाई पूर्णकालीन रोजगारी दिएका छन् । धनगढीमा सहर नजिकै एकान्त स्तरीय सेवा खोज्ने ग्रहकलाई लक्षित गरेर रिसोर्ट सञ्चाचलनमा ल्याएको भट्टले बताए । “आफ्नो ठाउँमा सम्भावना खोज्नुपर्छ भनेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ,” उनले भने, “अहिले प्रत्यक्ष रुपले ४० जनालाई रोजगारी दिएको छु, धनगढीमा पनि काठमाडौँको जस्तै रिसोर्ट हुनुपर्छ भनेर लगानी गरेको हुँ, पृष्ठपोषण राम्रो आइरहेको छ।”
उनले आफ्नै ठाउँमा पुँजीको लगानी गर्नुपर्ने बताउँदै, पुँजी र जनशक्ति पलायन रोक्न युवा र लगानी हुनेले विभिन्न क्षेत्रमा काम थाल्नुपर्ने बताए।

