

धनगढी । धनगढी उपमहानगरपालिका–१५ मा आजदेखि वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।
वडास्तरीय खेलकुद सञ्चालन समितिको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष सुखदेव रानाले गरे। प्रतियोगिताअंतर्गत पुरुषतर्फ फुटबल र भलिबल तथा महिलातर्फ कब्डी र डोरी तान्ने खेलहरू सञ्चालन हुनेछन्। पुरुषतर्फ फुटबलमा १४ टिम र भलिबलमा १५ टिम सहभागी छन्।
त्यस्तै महिलातर्फ कब्डीमा ८ टिम र डोरी तान्नेमा १४ टिम प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमलाई पुरुष तथा महिला दुवैतर्फ पहिलो पुरस्कार नगद ५ हजार रुपैयाँ, दोस्रो पुरस्कार ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने वडास्तरीय खेलकुद समितिले जनाएको छ। खेलकुद प्रतियोगिता मंसिर १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।

