
काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार (मंसिर २९) सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरिएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गएको शनिबार (मंसिर २७) निधन भएको थियो । उपाध्याय ०५१ सालमा राष्ट्रियसभा सदस्य र तत्कालीन मोरङ क्षेत्र नम्बर–१ बाट दुईपटक निर्वाचित सांसद थिए । ०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उनी शिक्षामन्त्री बनेका थिए ।
उपाध्यायले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि जित हासिल गरेका थिए । ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत उनी उमेदवार थिए ।
उनले समाजसेवा र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन् ।
बैठकबाट शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ । उनको निधनको शोकमा कांग्रेसले मंसिर २९, पुस १ र २ गते गरी तीन दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने निर्णय समेत गरेको सहमहामन्त्री उपाध्यायले जानकारी दिइन् ।
पुस १ गते तीनै तहका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ । उनको स्वार्गरोहणको १३ दिनसम्म तीनै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राखिनेछ । निधनको १३औँ दिनमा मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको सहमहामन्त्री उपाध्यायले बताइन् ।

