
काठमाडौँ । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका सुमन थापाको बयानको भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेको स्रोतले जनाएको छ। विकलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ। उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी गरिएको स्रोतको भनाइ छ।
आरोपीमाथि अनुसन्धान भइरहेको अवस्थामा प्रहरीको प्रोटोकलविपरीत बयानको भिडिओ खिचिएको थियो। उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएको छ। घटनाले अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि समेत नेपाल प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेका छन्।
सार्वजनिक भएको भिडिओमा पाँच जना प्रहरी देखिएको बताइएको छ। भिडिओ खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा संलग्न अन्य प्रहरीमाथि समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।

