बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

cp new add
Nisharg hospital

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पहिलोपटक टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।

Nast Ad

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सञ्चार सेवा सञ्चालनमा आएको हो। सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा सरकारी–गैरसरकारी निकायलाई सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ।

सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएपछि फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम भूगोलमा रहेका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताए। उनले बडीमालिकामा टावर स्थापना तथा सेवा सञ्चालनका लागि खटिएका नेपाल टेलिकमका कर्मचारी, उपकरण तथा सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना र स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिए।

मन्त्री तिमिल्सिनाले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए। उनले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने उल्लेख गरे। सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरी सेवा सञ्चालनको अवस्था र टावर निर्माणका क्रममा आएका कठिनाइबारे जानकारी लिए।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउनु टेलिकमको प्राथमिकतामा रहेको बताइन्। उनले सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारमा समेत काम भइरहेको जानकारी दिइन्।

बडीमालिका क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरेको थियो। गत साउन ८ गते सञ्चारमन्त्री तिमिल्सिनाले तत्काल सञ्चार सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। त्यसपछि प्राविधिक तथा भौगोलिक चुनौतीबीच टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...