
धनगढी । भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन गर्ने क्रम चलिरहेको छ ।

अध्यक्षमा अहिलेकै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन् ।
१९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि सुदूरपश्चिम प्रदेशबाट समेत नेताहरूले विभिन्न पदमा मनोनयन दर्ता गर्दैछन् ।सुदूरपश्चिमबाट संस्थापन पक्ष केपी ओली समूहबाट अहिलेका सचिव लेखराज भट्टले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।
ओलीले भट्टलाई सुरूमा सचिवमा प्रस्ताव गरेको थियोे तर उनले अस्वीकार गरेपछि हेरफेर गर्दै उपमहासचिवको उम्मेदवार बनाइएको थियोे । यसअघि उपमहासचिवमा प्रस्ताव गरिएका भानुभक्त ढकाललाई भने सचिवको उम्मेदवार बनाइएको छ ।
सुदूरपश्चिमबाट संस्थापन समूहबाट पदाधिकारीको उम्मेदवार बन्नेमा भट्ट एक्ला नेता हुन् ।
यस्तै, ईश्वर पोखरेल समूहबाट स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सचिवको उम्मेदवार बन्ने भएका छन् । उनी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउने नेताको पंक्तिमा पर्छन् । सदस्यमा संस्थापन समूहबाट खुलामा निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारी, ऐनबहादुर महर, लालबहादुर थापा, गणेश ठगुन्ना, हरदेव जोशी, झपटबहादुर बोहरा र राजेन्द्रसिहं रावल उम्मेदवारको सूचीमा छन् ।
युवा सदस्यमा नरेश रोकाया, महिलामा सन्तोषकुमारी शर्मा, कमलाकुमारी बोहरा र निरुदेवी पाल छन् । भूगोल खुला सदस्यमा पठानसिहं बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट र चक्र मल्ल छन् । युवा सदस्यमा गोविन्द गिरी, महिलामा कमला ओली, भागरथी सिंह र लिला भण्डारी रहेका छन् ।
दलित सदस्यमा अफिलाल ओखेडा र आशा बिश्वकर्मा, थारुमा गौरिशकंर चौधरी र कृपाराम राना तथा लेखा आयोगमा इश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने भएका छन् । ईश्वर पोखरेल समूहबाट सचिवमा थापाको नाम भएपनि सदस्य को-को परेका छन् ? भन्ने कुरा खुलिसकेको छैन् ।

