उमेर हदले अनेरास्ववियुबाट बिदा भएका रोकायाको एमाले केन्द्रीय कमिटीमा ‘इन्ट्री’

cp new add
Nisharg hospital

काठमाडौँ । ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा भएका तत्कालीन महासचिव नरेश रोकाया नेकपा एमालेको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

भृकुुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा रोकायाले खुला युवा कलष्टरमा उम्मेदवारी दिएका थिए । दुई पदका लागि निर्धारण गरिएको उक्त कलष्टरमा रोकायासँगै सुशील कुमार थापाको मात्रै उम्मेदवारी परेका कारण दुवै जना सर्वसम्मत चयन भएका हुन् । बाजुराका रोकाया र दैलेखबाट प्रतिनिधित्व गर्ने थापाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएका थिए ।

तर अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उक्त कलष्टरमा उम्मेदवारी नै नपरेपछि सर्वसम्मतको अवस्था बनेको थियो ।
अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य रहेका थापा पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य छन् भने २०७४ सालमा उनी प्रदेश सभा सदस्य समेत बनेका थिए । बाजुराका रोकाया भने अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । अध्यक्षका बलियो दाबेदार रहेका रोकाया संगठनमा लगाइएको ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा भएका थिए ।

तर, ३८ वर्षीय उनै रोकाया अहिले भने पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध भएपछि पार्टी नेताको भूमिकामा आइपुगेका छन् । ‘मैले दुुई दशकसम्म अनेरास्ववियु मार्फत विद्यार्थीको आवाज बनेर उनीहरुको भावना र मुद्दा बोकेर काम गरे । अब भने जनताको मुद्दा लिएर अघि बढ्छु,’ रोकायाले भने, ‘पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै युवाको बढि भन्दा बढि प्रतिनिधित्व गर्ने काममा म लाग्छु ।’

रोकाया उमेर हदका कारण अनेरास्ववियुुबाट बिदा लिनुपरेको क्षणको समेत स्मरण गर्छन् । त्यतिबेला आफूमाथि अन्याय भएपनि अहिले भने देशभरबाट प्रतिनिधि र नेतृत्वमा बसेका नेताहरुको सद्भाव र आफ्नो योगदानको उचित मूल्यांकन भएका बुझाई रोकायाको छ ।

यस्तो छ, रोकायाको राजनीतिक यात्रा

बाजुराको गौमुल गाउँपालिका—३ स्थायी बसोबास भएका रोकाया २०६१ सालदेखि पूर्णकालीन राजनीतिमा छन् । १३ वर्षको उमेरमा २०५६ सालमा बाल विकास माध्यमिक विद्यालयबाट अनेरास्ववियुमा आवद्ध भएका थिए ।

त्यो बेला विद्यालयको प्रारम्भिक कमिटीको सचिवमा संगठित भएका रोकाया २०६० सालमा अनेरास्ववियुको बाजुरा जिल्ला सदस्य बनेका थिए । २०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य भएका उनी २०६७ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका थिए ।
२०७० सालमा पुनः केन्द्रीय कमिटी सदस्यमै दोहोरिए । २०७२ सालमा केन्द्रीय सचिवालय सदस्य, २०७५ सालमा केन्द्रिय स्थायी कमिटी सदस्य र २०७८ सालमा केन्द्रीय कमिटी उपमहासचिवमा निर्वाचित भएका थिए ।

२०७९ सालमा केन्द्रीय कमिटी महासचिव बनेका रोकाया उमेरहदका कारण संगठनबाट बिदा भएका थिए । अध्यक्ष बन्ने दौडमा रहेका रोकायाको यात्रामा उमेर हदकै कारण पूर्ण बिराम लागेको थियो ।

विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रोकायाले पाटीको ११औँ राष्ट्रिय महाधिवेशनबाट भने केन्द्रीय कमिटीको यात्रा तय गर्दै नयाँ जिम्मेवारी पाएका छन् । रोकायाले केन्द्रीय सदस्यको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...