

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ३ को निर्वाचन परिणाम सार्वजनिक भएको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवारले ऐतिहासिक जित दर्ता गरेका छन्। साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि पार्दै ४६ हजार ८९० मतका साथ विजयी झण्डा गाडेका हुन्।
साहको निकटतम प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले मात्र १३ हजार ३३८ मत प्राप्त गरे। साह र श्रेष्ठबिचको मतान्तर झन्डै ३३ हजारभन्दा बढी रहेको छ । त्यस्तै, नेपाली कांग्रेसका विनोदप्रसाद खनाल ६ हजार २२४ मतमा खुम्चिएका छन् भने नेकपा एमालेका पूर्वसांसद हरि उप्रेती ५ हजार ७७६ मतका साथ चौथो स्थानमा सीमित भएका छन्।
निर्वाचनमा पराजित भएपछि नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन्। उनले सर्लाही ३ का मतदाताको जनादेशलाई सहज रूपमा स्वीकार गर्दै विजयी नरेन्द्र साहलाई बधाई तथा शुभकामना दिएका छन्। श्रेष्ठले आफूलाई मतदान गर्ने र निर्वाचनमा सहभागी हुने सबै मतदातालाई आभार व्यक्त गर्दै आगामी दिनमा पार्टी निर्माण र जनताको पक्षमा नयाँ ढंगले संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो निर्वाचन अभियान कुनै व्यक्तिगत पद वा स्वार्थका लागि नभएको स्पष्ट पारेका छन्। विजय भएको भए संसदीय मोर्चाबाट काम गर्ने अवसर मिल्ने र अहिले पराजित भएको अवस्थामा फरक मोर्चाबाट देश र जनताको पक्षमा क्रियाशील रहने उनले बताएका छन्। निर्वाचनको समयमा कम्तीमा दुई महिनामा एक पटक सर्लाही आउने बाचा गरेका श्रेष्ठले अब जनप्रतिनिधिको भूमिकामा नभए पनि सर्लाहीका जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाएका छन्।
श्रेष्ठले आफ्नो राजनीतिक जीवन राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र सामाजिक न्यायका लागि समर्पित रहने भन्दै सर्लाहीको विकास र जनताको अधिकारका लागि सधैं कार्यरत रहने उल्लेख गरेका छन्। उनले भोकभोकै खटिएका आफ्ना कार्यकर्ताहरूलाई क्रान्तिकारी अभिनन्दन गर्दै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

