

धनगढी । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कैलालीमा सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कैलाली शाखाको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित उक्त कार्यक्रम धनगढीमा सम्पन्न भएको हो।
कार्यक्रम क्यान कैलालीका अध्यक्ष नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। त्यस्तै, क्यान महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष धनबहादुर बोगटी लगायत विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा स्रोत व्यक्तिका रूपमा इन्जिनियर रोशन श्रेष्ठ तथा नेपाल प्रहरी प्रदेश अनुसन्धान ब्यूरोका सब–इन्स्पेक्टर जीवन चौधरीले सहजीकरण गरेका थिए। उनीहरूले साइबर अपराधका वर्तमान प्रवृत्ति, अनलाइन ठगीबाट बच्ने उपाय, डाटा सुरक्षाको महत्व तथा डिजिटल प्लेटफर्मको सुरक्षित प्रयोगबारे जानकारी दिएका थिए।
वक्ताहरूले सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाका चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गर्दै सचेतना अभिवृद्धि आवश्यक रहेको बताए। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानले व्यक्तिगत तथा व्यवसायिक सुरक्षामा सहयोग पुग्ने बताएका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, आईटी विज्ञ, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले यस्ता कार्यक्रमहरूले डिजिटल साक्षरता बढाउनुका साथै सुरक्षित डिजिटल वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

