

काठमाडौं । धनुषा-१ का नेकपा उम्मेदवार मातृका यादवले मत गणना सकिएर आफू विजयी हुँदा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।
धनुषामा पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयोग कसैको दबाबमा परेर आफूलाई प्रमाणपत्र दिनबाट पछि हटेको हुनसक्ने उनको आशङ्का छ।
त्यहाँ रास्वपाका उम्मेदवार किशोर साहको उम्मेदवारी खारेज भएको थियो। खारेज भएपनि रास्वपाले धेरै मत पाएको छ। तर नेकपाका उम्मेदवार यादवले साहको उम्मेदवारी खारेज भएकाले आफू विजयी भएको दाबी गरेका छन्। उनले भने, ‘बन्द सूचीका अन्य २१ जनालाई पनि खारेज गरिएको छ।
अदालतबाट कुनै प्रकारको स्थगन आदेश वा पत्र नआएको अवस्थामा दबाबमा आएर अहिले रोकिएको छ। आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्ने हो। कसैको दबाबमा परेर निर्णय गर्नु उचित होइन। विधि, सुशासन र कानुनी प्रक्रियाको कुरा गर्नेहरूले अहिले कुशासनको व्यवहार देखाउन हुँदैन।’
मतगणनाको प्रक्रिया रेकर्डमा राख्ने तर परिणाम घोषणा नगर्ने आयोगले बदमासी गरेको टिप्पणी गरे। उनले आफूले पार्टीमा जानकारी गराइसकेको भन्दै आफैँ निर्वाचन आयोगमा गएर कुरा गर्ने बताए। उनले रास्वपाले दबाब दिएको हुनसक्ने भन्दै आयोगजस्तो संवैधानिक र स्वायत्त निकायले यस्तो प्रभावमा पर्नु नहुने बताए।

