कैलालीमा वन्यजन्तुको अंग प्रकरण : भण्डारीसहितका प्रहरीसँग सोधपुछ सकियो, के होला कारवाही ?

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको घटनामा मुद्दा कमजोर बनाएको आरोप लागेका प्रहरीसँग सोधपुछ सकिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालीन मुद्दा फाँट प्रमुख इन्सपेक्टर दानसिंह भण्डारीसहित अन्य प्रहरीसँग सोधपुछ पूरा भएको जनाएको छ ।

हाल इलाका प्रहरी कार्यालय साफेबगरमा कार्यरत भण्डारीलाई कैलाली बोलाएर फेरि बयान लिइएको थियो । यसैगरी अछाममा कार्यरत असई कर्णबहादुर पार्की लगायतका प्रहरीले पनि बयान दिएका छन् ।

यस घटनामा जोडिएका करिब १३ जना प्रहरीलाई जिल्ला बोलाएर सोधपुछ गरिएको स्रोतले जनाएको छ । छानबिन समितिका सदस्य इन्द्रदेव भट्टसँग पनि बयान लिइएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका तत्कालीन डीएसपी निशान्त श्रीवास्तव नेतृत्वको समितिले कारवाही सिफारिस गरेका कारण सबैसँग सोधपुछ गरिएको हो । अब चाँडै कारवाहीबारे निर्णय हुने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द विदामा रहेका कारण निर्णय ढिला भएको थियो । अहिले उनी फर्किसकेकाले छिट्टै निर्णय हुने बताइएको छ ।

यो घटनामा संलग्न प्रहरीलाई नियमअनुसार कारवाही गरिने तयारी छ ।

गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक र चित्तलको सिङ तथा खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए ।

तर, मुद्दा चलाउने क्रममा इन्सपेक्टर भण्डारीको योजनामा चित्तलका अंग लुकाएर हातहतियार सम्बन्धी मात्र मुद्दा अघि बढाइएको आरोप लागेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...