नयाँ सरकार बनेपछिको सेयर बजार झर्‍यो ७१ अंक

cp new add
Nisharg hospital

काठमाडौं । बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ ।

Nast Ad

आज बजार खुलेपछि निरन्तर ओरालोमा रह्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो । ९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । सीवाईसी नेपाल लघुवित्तको मूल्य ७.१, सोलु हाइड्रोपावरको ३.५ प्रतिशत मूल्य बढ्यो ।

युनिक नेपाल लघुवित्तको ६.१७, हिमाल दोलखाको ५.४५, अभियान लघुवित्तको ५.३९, माउन्टेन हाइड्रो नेपालको ५.३७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनी छन् ।

आज किन घट्यो बजार ?

नयाँ सरकार बनेपछि बजारमा उत्साह थपिने धेरैको आश थियो । सरकारले निजी क्षेत्रमैत्री केही निर्णय पनि गरिसकेको थियो ।

आज बजार घट्नुमा धरपकड र आन्दोलन पनि एउटा प्रमुख कारण रहेको एक ब्रोकर सञ्चालकले बताए । ‘अघिल्ला दिनसम्म बढेको बजार सरकार बनेपछि आज घट्नुपर्ने खास कारण केही थिएन, धरपकड र आन्दोलनले लगानीकर्ताको मानसिकतालाई प्रभाव पार्‍यो’ उनले भने ।

पहिलेदेखि नै बजार एक चरणमा बढिसकेकाले नाफा पनि रहेको र पछिल्लो समय धरपकड र आन्दोलन हुन थालेसँगै आइतबार बिक्री चाप बढेको उनको भनाइ छ । गत साता नेप्से ७३ अंक बढेको थियो । एक महिनाअघि नेप्से २६७३ अंकमा थियो भने आज आइतबार बजार खुल्दा २९५० अंकमा थियो ।

‘कतिपयले बेच्नका लागि पनि उपयुक्त समय पर्खिएका हुन्छन्, नयाँ सरकार बनेको मौकामा धेरै परिमाणमा सहज रुपमा बेच्न सकिने भएकाले त्यो मौका सदुपयोग भएको हुन सक्छ’ ती ब्रोकर सञ्चालकले भने ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...