धनगढीका तत्कालीन इन्सपेक्टर-सईको यस्तो धन्दा, तस्करका भरियामार्फत लाखौँको सामान बेचेछन्

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कैलालीको एक प्रहरी कार्यालयले अवैध भन्दै बरामद गरेको सामान आफैंले बिक्री गरेर रकम लिएको घटना सार्वजनिक भएको छ। वडा प्रहरी कार्यालय धनगढीका तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर)योगेश खत्री र तत्कालीन प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्र किमाडी समेतको संलग्नता रहेको स्रोतले जनाएको छ।

घटना गत असोजको भए पनि यसको वास्तविकता अहिले मात्रै सतहमा आएको हो। वडा प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले असोज १ गते ५४ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको थियो। तर, भन्सार कार्यालयमा भने २० लाख ६५ हजार रुपैयाँ बराबरको सामान मात्रै दाखिला गरिएको भेटिएको छ।

tourism

यति मात्र होइन, फूलबारीका चौधरी थरका एक व्यक्तिको सूचनाका आधारमा बरामद गरिएको सामानमध्ये केही उनैमार्फत बिक्री गरिएको खुलेको छ। यही कारण बरामद गर्ने बेलाको विवरण र भन्सारमा दाखिला गरिएको सामान तथा मूल्यमा ठूलो अन्तर देखिएको हो।

असोज २ गते वडा प्रहरीका तत्कालीन प्रमुख प्रहरी निरीक्षक खत्रीले भन्सार कार्यालयमा पठाएको पत्रमा आठ प्रकारका सामान बरामद गरिएको उल्लेख छ। कम्प्युटरबाट प्रिन्ट गरिएको उक्त पत्रमा बरामद सामानको मूल्य २७ लाख ५२ हजार ५ सय रुपैयाँ देखाइएको छ। तर, सोही पत्रमा सामानको परिमाण र मूल्य घटाउँदै पुनः कलमले केरमेट गरी २० लाख ६५ हजार ५० रुपैयाँ कायम गरिएको पाइएको छ।

स्रोतका अनुसार यो कार्य भन्सार कार्यालयका केही कर्मचारीको मिलेमतोमा तत्कालीन सई दिपेन्द्र किमाडी ले गरेको हो।

के थियो बरामद सामान,कसरी गायब पारियो  ?

जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले त्यतिबेला जारी गरेको प्रेस विज्ञप्तिमा ५४ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको उल्लेख गरेका थिए।

वडा प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित एक लोजिस्टिक ट्रान्सपोर्टमा राखिएको अवस्थामा ती सामान बरामद गरेको जनाएको थियो। तर, भन्सार दाखिला गर्ने क्रममा भने प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसारको सामान र विवरण नै नमिलाइएको पाइएको छ। सामानको मूल्यसमेत तलमाथि गरिएको छ।

प्रहरीको विवरणअनुसार १५ हजार पिस वायर एयरफोन बरामद गरिएको थियो। प्रति एयरफोनको मूल्य सुरुमा एक सय रुपैयाँ कायम गरिएको पत्रमा पछि केरमेट गरेर ६५ रुपैयाँ बनाइएको छ। यसअनुसार सुरुमा १५ लाख रुपैयाँ मूल्य राखिएकोमा पछि ९ लाख ७५ हजार रुपैयाँ मात्रै कायम गरिएको देखिन्छ।

त्यसैगरी प्रहरीले ४५० वटा स्मार्ट घडी बरामद गरेको उल्लेख भए पनि भन्सार बुझाउँदा ४३९ पिस मात्रै देखाइएको छ। प्रति घडीको मूल्य ८ सय रुपैयाँ राखिएकोमा पछि कलमले केरमेट गरी ४५० रुपैयाँ बनाइएको छ।

सुरुको मूल्यांकनअनुसार ४५० घडीको कुल मूल्य ३ लाख ६० हजार रुपैयाँ हुन आउँछ। बीचमै गायब पारिएका ११ घडी बाहेकको मूल्य ३ लाख ५१ हजार रुपैयाँ हुन्छ। तर, मूल्य घटाएपछि भने १ लाख ९७ हजार रुपैयाँ मात्रै कायम गरिएको छ।

यस्तै ४, ३२ र १२८ जीबीका २५५ वटा पेन ड्राइभ बरामद गरिएको थियो। तर, भन्सार विवरणमा भने चार वटा कम देखाइएको छ। प्रहरी स्रोतका अनुसार जिप्रकाको टिपोटमा उल्लेख भएकै सामानसमेत बिक्री गरिएका कारण बरामदका क्रममा पनि केही ठूलो परिमाणको सामान गायब पारिएको थियो।

स्रोतका अनुसार त्यसरी गायब पारिएको सामान बिक्री गरेर दुई लाख रुपैयाँभन्दा बढी रकम उठाइएको थियो। उक्त रकम वडा र प्रदेशका केही प्रहरीबीच बाँडफाँट गरिएको दाबी गरिएको छ।

सामान बिक्री गर्न भरियाकै प्रयोग

प्रहरीले बरामद गरेको सामान भारतबाट अवैध रूपमा ल्याइएको थियो। कैलालीको मसुरियाका एक व्यापारीको उक्त सामान फूलबारीका चौधरी थरका व्यक्तिले ल्याइरहेका थिए।

दुवै पक्षबीच लेनदेनमा कुरा नमिलेपछि चौधरीले आफैं प्रहरीलाई अवैध सामानबारे सूचना दिएर बरामद गराएका थिए। चौधरीसँग मिलेर केही ठूलो परिमाणको सामान लुकाएका प्रहरीले पछि उनैलाई प्रयोग गरेर बिक्रीसमेत गराएको स्रोतको दाबी छ।

स्रोतका अनुसार सुरुमा नै केही सामान मात्रै बरामद गर्ने र बाँकी लुकाएर बिक्री गरी रकम बाँड्ने योजना बनेको थियो। सोही योजनाअनुसार प्रहरीका लागि काम गरेका चौधरीलाई कमिशनको विषयमा कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउसमेत गरेको खुलेको छ।

मसुरियाका व्यापारी र चौधरीलाई पक्राउ गरेर प्रहरीले केही दिन थुनामा राखेको थियो। चौधरीले प्रहरीलाई सूचना दिएर सामान बरामद गराएको, बरामद नभएको सामान लुकाएर बिक्री गर्दा उल्टै आफूलाई दुःख दिएको गुनासो गर्दै आएका थिए।

यो प्रकरणमा वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी निरीक्षक योगेश खत्री, सई दिपेन्द्र किमाडी सहितका केही प्रहरीले ठूलो रकम हात पारेको दाबी गरिएको छ। भन्सार कार्यालय कैलालीमा कानुनी रूपमा पाउने कमिशन प्राप्त गर्न बैंक खातासमेतको विवरण दिएका १४ जना प्रहरीमाथि छानबिन भए सबै तथ्य बाहिर आउने स्रोतले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...