हप्तामा दुई दिन बिदा हुँदा विद्यार्थीकाे पढाइ प्रभावित हुने बडिमालिकाकाे निष्कर्ष, मन्त्रालयलाई यस्ताे पत्र पठायाे



धनगढी । बाजुराकाे बडिमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको विदा व्यवस्थापन सम्बन्धमा नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ ।
संघीय सरकारले सातामा दुई दिन (शनिवार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेपछि विद्यालयको वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको भन्दै नगरपालिकाले हप्तामा एक दिन मात्रै बिदा कायम गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

नगर प्रमुख अमर खड्काले मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालको दुई दिने बिदा प्रणाली, चाडपर्व तथा प्रशासनिक बिदाहरूका कारण विद्यालयमा वास्तविक पठनपाठन दिन उल्लेखनीय रूपमा घट्दै गएको उल्लेख गरेका छन् ।
यसले शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि तथा नियमित अध्ययन प्रक्रियामा प्रत्यक्ष असर पारिरहेको नगरपालिकाको भनाइ छ । पत्रमा शिक्षा नियमावली, २०५९ को नियम ८४ (५) अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहे पनि हालको बिदा संरचनाले उक्त व्यवस्था कार्यान्वयनमा व्यावहारिक समस्या सिर्जना गरेको जनाइएको छ ।
नगरपालिकाका अनुसार नगर प्रमुखको अध्यक्षतामा सम्पन्न प्रधानाध्यापकहरूको परामर्श बैठक, शिक्षा समितिको सिफारिस तथा कार्यपालिका बैठकबाट समेत स्थानीय शैक्षिक अवस्था, भौगोलिक जटिलता र सिकाइ वातावरणलाई मध्यनजर गर्दै बिदा व्यवस्थामा पुनर्विचार आवश्यक रहेको निष्कर्ष निकालेकाे छ ।
पत्रमा सातामा दुई दिन बिदा कायम रहँदा देखिएका मुख्य समस्याहरू पनि औंल्याइएको छ । जसअनुसार वार्षिक २२० शैक्षिक दिन पूरा गर्न कठिन हुने, पाठ्यक्रम समयमै सम्पन्न गर्न नसकिँदा सिकाइ उपलब्धि न्यून हुने, परीक्षा तयारी प्रभावित हुने तथा विद्यालय सञ्चालन अनियमित हुँदा विद्यार्थीको अनुशासन र नियमितता कमजोर हुने उल्लेख गरिएको छ ।
त्यसैगरी सामुदायिक विद्यालय लामो समय बन्द हुँदा निजी संस्थागत विद्यालयतर्फ विद्यार्थी पलायनको जोखिम बढ्ने, ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थीहरू घरायसी र कृषि कार्यमा बढी संलग्न भई अध्ययनमा ह्रास आउने तथा स्थानीय सन्दर्भमा यातायात, ऊर्जा र प्रशासनिक जटिलता न्यून रहेको अवस्थामा दुई दिन बिदाको औचित्य कमजोर देखिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख खड्काले साेही आधारमा नगरपालिकाले स्थानीय तहमा अभ्यास हुँदै आएको मोडलअनुसार हप्तामा एक दिन अर्थात् शनिबार मात्रै बिदा दिने व्यवस्था शैक्षिक दृष्टिले बढी व्यवहारिक र प्रभावकारी हुने निष्कर्ष निकालेकाे बताए ।
नगरपालिकाले मन्त्रालयसमक्ष सामुदायिक विद्यालयहरूको विदा व्यवस्थापन सम्बन्धमा तत्काल नीतिगत स्पष्टता, आवश्यक परिमार्जन वा स्थानीय तहअनुसार लचिलो कार्यान्वयन निर्देशिका जारी गर्न हार्दिक अनुरोध गरेको छ ।

