

गृहमन्त्री सुधन गुरुङ विवादका बीच रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ताका लागि उनको बूढानीलकण्ठस्थित निवास पुगेका छन्। विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी रहेको एक लघु बीमा कम्पनीमा संस्थापक सेयर राखेको विषय सार्वजनिक भएपछि गुरुङमाथि आलोचना चुलिएको हो।
उक्त सेयरबारे सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप लागेपछि सामाजिक सञ्जालमा समेत उनीमाथि प्रश्न उठिरहेका छन्। यसै कारण उनलाई पदबाट राजीनामा दिनुपर्ने मागसमेत उठ्न थालेको छ।

गुरुङले भने उक्त सेयर ऋणमार्फत लिएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। यद्यपि, उनको स्पष्टीकरणप्रति सन्तुष्टि नजनाउँदै आलोचना जारी छ।
चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङ सार्वजनिक दबाब बढ्दै गएपछि पार्टी नेतृत्वसँग परामर्श गर्न सभापति लामिछानेको निवास पुगेका हुन्।

