

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भारतबाट भन्सार छलि गरी ल्याइएका ७ लाख २९ हजार ७६० बराबरका सामान प्रहरीले बरामद गरेको छ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट अन्दाजी १ लाख ६८ हजार ५० बराबरका किराना सामान, सिद्रा माछा लगायतका सामग्री मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ५ लाख ९ हजार ७ सय बराबरका फेन्सी सामानसहित बा५२ प २४३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। उक्त सामग्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।
त्यसैगरी दार्चुलाको लेकम गाउँपालिका–५ चौपाता क्षेत्रबाट अन्दाजी मूल्य ५२ हजार १० बराबरका श्रृङ्गार लगायतका सामान इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको टोलीले बरामद गरेको छ।
बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

