

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वायु प्रदूषण बढेको छ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार नेपालका प्रदूषित सहरहरूको सूचीमा धनगढी आज पहिलो स्थानमा परेको छ। उक्त संस्थाका अनुसार बिहीबार बिहान धनगढीको वायु गुणस्तर सूचकांक (AQI) ५२७ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर स्तर हो। त्यसैगरी, दोस्रो स्थानमा वीरेन्द्रनगर र तेस्रो स्थानमा काठमाडौं रहेका छन्।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या बढ्ने जोखिम उच्च हुन्छ। विज्ञहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा बालबालिका, वृद्ध र दीर्घरोगीहरूले विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

